scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

६० वर्षदेखि जमिनका लागि संघर्ष

राजेश विद्रोही/बिहानको गहिरो निन्द्रामा थिएँ । ५ बजे बेडमै ७५ वर्षका बुढा बा खुट्टा सुमसुमाउन थाले । दुःखका कुराहरू गुनगुनाउन थाले । एकछिनपछि मेरो निन्द्रा हरायो । जुरुक्क उठेँ । बुढा बा अर्थात् स्थानीय लक्ष्मी मोची विगत र वर्तमानका सबै सुख-दुःखका कुराहरू बिसाउन थाले । म भने एकटक सुनिरहेँ-

सानै छँदा बुबा आमा हैजा प्रकोपमा मरे । खडेरीको समय भयानक थियो । सहि नसक्नु दुःख झेलेँ । जमिन थियो, पैसा थिएन । पैसा हुनेको अनाज थिएन । जीवन भोकको छटपटिमा बाँचेर पनि मरेसरह थियो ।

बुबा आमाले भनेको, आफ्नै कानले सुनेको र आफ्नै आँखाले देखेको धेरै कुरा थाहा छ । तर, मलाई थाहा छ । १२ कट्ठा जग्गा एउटै कित्ताको थियो । त्यसमध्ये बुबा असर्फि मोचीले ५ कट्ठा जग्गा २०० सयमा सुईधभर्ना (बन्धकी) राखेर जोहो गर्ने सोचें । धेरै ठाउँ धाएँ । धेरै गाउँ चहारेँ । कसैले दिन मानेनन् । मुंगाई ठाकुर मालिक (जमिन्दार) साहेबले ‘भोलि आउ म दिन्छु’ भने । र, उनले ५ कट्ठा जग्गा सुईधभर्नामा २०० सय रूपैयाँ दिए । निरन्तर र चर्को खडेरीले २०० सयमा किनेको अनाज धेरै दिन टिकेन । बाँकी ७ कट्ठा मध्ये ३ कट्ठा जग्गा १२५ रूपैयाँमा फेरि उसैलाई सुईधभर्ना दिए । बाँकी चार कट्ठा जग्गा आफैले खनजोत गर्दै थिएँ ।

दुई वर्षपछि जमिन फिर्ता लिन बुबा असर्फि मोची ३२५ रूपैयाँ बोकेर जमिन्दार ठाकुरनजिक पुगेका थिए । ठाकुरले जग्गा फिर्ता दिन मानेनन् । जमिन लिलाममा (जफत) परिसकेको भने । असर्फि त्यतिबेलै मुर्छित भएर घर फर्केका थिए । बैमानी, सैतानी, चोरी, तस्करी, घुसखोरी, भ्रष्टाचारी, नातावाद, कृपावाद र जातिवाद पहिला पनि थियो । तर, अहिलेको जस्तो विरोध गर्न पाइन्नथ्यो । विरोधको आवाज कमजोर थियो । कसैले विरोध गरे सिधै जल्नु पर्थ्यो । गाउँघरमा मालिक मुखियाहरूकै बोली चल्थ्यो । उनीहरुले बोलेको कुरा पुग्थ्यो । बाँकी ४ कट्ठा जग्गामा पनि मालिक मुंगाई ठाकुरले नै कब्जा गरे । उसैले खनजोत गर्न थाले ।

२०१६/१७ सालतिरको कुरा हो । राजा महेन्द्र सप्तरीको बोदेबरसाईन आएका थिए । राजाले जनतालाई सुन्दैनथे । ठूलाठालूका कुरा सुन्थे । त्यहि वर्षदेखि तराईमा चर्को खडेरीको सामना गर्नुपर्‍यो । सबैतिर जनताको आवाज नसुन्ने राजा आएर अछोप भएको खुबै चर्चा थियो । सबैले गाली गर्थे भोकको झोंकमा । म ११ वर्षको थिएँ । बुबा आमा हैजाको प्रकोपमै मरिसकेका थिए । बुबा दुई दाजुभाइ थियो । कान्छो भाइपट्टि ४ छोरा र जेठोपट्टि म एक छोरा मात्र थिए । चारैजना भाइहरूभन्दा जेठो थिए । अरू भाइहरू सबै सानै थिए । परिवारमा लहानबाली काकी मात्र अभिभावकको रूपमा बाँचेका थिएँ । मेरो बुबा आमा पानी बिनै मरे । पानी खुवाए छिटो मर्छन् चिन्तन थियो । हैजा लाग्नेलाई घरमा थुनेर बाहिरबाट चुकुल लागाई दिने चलन थियो । पानी-पानी चिच्याई रहन्थें । पानी बिनै गाउँका गाउँ मान्छे सखाफ हुन्थे ।

खाल्डो खनेर लास गाड्ने ठाउँ पनि थिएन् । आफूलाई हैजाले भेट्छ कि डर पनि थियो । आँटीहरू बैलगाडामा लासहरू बोकेर सार्वजनिक डबरामा (सानोपोखरी) फालेर आउँथे । स्याल, गिद्ध र कुकुरहरू लास चिथोरी-चिथोरी खान्थे । त्यतिबेला संसार सानो थियो । अहिलेको जस्तो थिएन । मर्नुपर्ने मान्छे मरेनन्, नमर्नु पर्ने मान्छेहरू मरे ।

परिवार त सखाप भैसकेका थिए । लहानबाली काकी मात्र जीवित थिइन् । जेठो भाइको नाताले चारैजना भाइहरूलाई पाल्ने र हुर्काउनेदेखि बिहेवारी सम्म गरेँ । आफ्नै जग्गा आफैले उब्जाएर सबै अनाज ठाकुरलाई दिन्थेँ । आफू एकपसेरी धान (पाँच केजी धान) ज्याला लिएर घर फर्किन्थेँ । आक्रोशले मेरो मन जलि रह्यो । जलेर के गर्नु सहि रहेँ । सहनुको विकल्प थिएन ।

२०२२ को सालको नापीमा ठाकुरले सुटुक्क मोहि दर्ता गराए । हामीलाई त्यो पनि थाहा भएन् । उनीसँग अन्जामना बनाईएका केहि भर्पाई २ र ४ नम्बर अनुसूचि मात्र छ । हामीसँग सिंगो लालपुर्जा छ । लालपुर्जा र अन्य ठाउँमा ठाकुरको कुनै मोहि हकदावीको प्रमाण छैन् । कैयनपटक समाजले जग्गा फिर्ता गर्न आग्रह गरे पनि कानुनी धाक देखाउँदै आए । समाजका भलाद्मीहरूले सुझबुझ देखाएपछि पटक-पटक आफ्नो जमिनमा हल्लो चढाउन जाँदा उल्टो अपमानित भएर पटक-पटक कुटाई खाएर घर फर्केको छु । ६० वर्षदेखि आफ्नै जमिन आफैले जोतेर खान पाएको छैन । उल्टो ५ वर्षदेखि ठाकुरले सप्तरी भूमिसुधारमा ५ जना दाजुभाइ माथि मुद्दा चलाए । भूमिसुधारसँग मोहि दर्ताको प्रमाणपत्र र लालपुर्जाको माग गरेको छ ।

देशमा संकटकाल थियो । गाउँघरका युवाहरू द्वन्द्वको दोहोरो मारमा थिए । हामी बुढाबुढी बिरामी भैराख्थ्यौं । घरमा ऋणको चाप बढ्यो । २०६०/६१ सालतिर जेठो छोरालाई विदेश पठाउन त्यहि जग्गा एक लाखमा धितो राखेँ । अझैं पनि जग्गा दिनेश यादवकै नाममा दर्ता छ । उसैको नाममा मुद्दा चलिरहेको छ । बुढो मान्छे वर्षौंदेखि तारिक धाइरहेको छु । कुनै निर्णय छैन । बोलबालाहरूकै कानुनी सञ्जाल छ । थुप्रैका निर्णयहरू भैसके । यतिबेला हाम्रो मुद्दा मुर्दाजस्तै भएको छ । मुद्दा दिएर जमिन्दार मुंगाई ठाकुरको छोरा विश्वनाथ ठाकुर पैसाको बलमा मैमत्त छन् । हामी भन्ने मुद्दा वरिपरि चक्कर मारिरहेका छौं । बुढो हड्डी सुकिरहेको छ ।

यसअधि एकपटक मैले पनि मुद्दा चलाउन सुरू गरेका थिए । लेखनदासले कागजमा मेरो ठेगाना फरक पारिदिए । कानुनी सुझबुझ थिएन । जमिन्दारी पकड्को कारण चौतर्फी दबाबले लड्न सकिएन । गाविसदेखि भूमिसुधारसम्म उसकै हालीमुहाली देखें । मुठीभर उनका मान्छेहरू मुद्दा हार्नु हुन्छ भन्दै डर देखाई दिए । मुद्दा बिना फैसला तुहाई दिए ।

धनीको जग्गामा गरिबको मोहियानी हकको लालपुर्जा भएर पनि धेरै गरिबहरू मोहियानी हकबाट बन्चित भएको यहि आँखाले देखेको छु । कतै जमिन्दारहरूको जग्गामा मोहियानि हक नभएर पनि मोहियानी हक दावी गरेर गरिबका जग्गा जमिन बेचिदिएको यहि आँखाले देखेको छ । कानुन त कानुन हुन्छ । सत्यको पक्षपाति हुन्छ । तर, यहाँ चलखेलको पक्षपाति छ । कमजोरको वर्गको पक्षमा होइन बलिया वर्गहरूको पक्षमा छ । आन्दोलन र विद्रोहको नाममा प्रमाणहरू गायब गरिएका छन् ।

आफ्नै जीवनकालमा चारपटक मुलुकको व्यवस्था फेरिएको यहि आँखाले देखे भोगेको छु । निहत्था र निमुखा जनताको पक्षमा कुनै पनि व्यवस्था देखिएन् । राणा शासनमा राणाकै भाइभारदारहरुको कुरा चल्थ्यो । काँग्रेसको प्रजातान्त्रिक आन्दोलनपछि राजारजौटाहरूको वरिपरि रहने दरबरीयाहरूकै कुरा चल्थ्यो । २०१७ सालमा महेन्द्र सरकारले ‘कू’ गरेपछि पनि चाकडी गर्नेहरूकै हालीमुहाली थियो । २०४६ सालको कम्यूनिष्ट आन्दोलनपछि पनि हुनेखाने सुकिलामुकिला दरबरीयाहरूकै बर्चस्व थियो । अहिले पनि लोकतान्त्रिक गणतन्त्रमा सिंहदरबार वरिपरि रहनेहरूकै कानुन चलेको छ । सर्वसाधारण नागरिकको हितका लागि कुनै पनि कानुन र व्यवस्था आएन । न त सर्वसाधारणलाई कुनै पनि कानुन र व्यवस्थासँग मतलब रह्यो । किनभने सामान्य नागरिकलाई जीवनदेखि कहिल्यै फुर्सद भएन ।

हाम्रोतिर यस्ता धेरै पीडादायी जीवनका उदाहरणहरू छन् । जमिन्दारको जमिनमा किसानको मोहियानी हुनुपर्नेमा किसानको जमिनमा जमिन्दारको मोहियानी छ । जमिन्दारको जमिनमा किसानको मोहियानी हक भए पनि हक पाएको छैन् । किसानको जमिनमा उल्टो जमिन्दारको मोहियानी हक छ । मोहियानी हक नभए पनि मोहियानी हक पाएको छ ।

राजेश विद्रोही

गरिब, मजदुर र किसानहरू अनाहक न्यायलयमा पछाडि पारिएका छन् । मुलुकमा न्याय नपाएका यस्ता थुप्रै बुढा बाहरू छन् । वर्षौंदेखि न्यायलयका ढोका घचघचाई रहेका छन् । यतिसम्म कि न्यायलाई पर्खिँदा पर्खिँदै एउटा पुस्ताको मृतआत्मामा अर्को पुस्ताले सहि न्यायका लागि मुद्दाको भारी बोकिरहेको उदाहरण यहि देशमा छ । न्यायलय बिक्ने देशमा यस्ता बुढा बाहरू कहिले न्याय पाउँलान् ? र, लोकतान्त्रिक न्यायको अनुभूति गर्लान ?

मुलुकमा लोकतान्त्रिक व्यवस्था छ । ६० वर्षदेखि बुढाबा आफ्नो जमिनकालागि संघर्ष गरिरहेका छन् । त्यहि जमिनको शोकमा बुढा बाका बुबा आमाको लास स्याल र गिद्धहरूले लुछिचुँडी खाए । उनको पुस्ता पनि अन्तिम चरणमा छन् । अभाव नभई अहिलेको युगमा सुकिलामुकिला वर्गले यसरी न्यायको ढोका चहार्थे ? को हुन यी बुढा बा ? यो देशको नागरिक होइनन् ? उनलाई न्याय पाउने अधिकार छैन ? छ भन्ने राज्य किन चुपचाप छ ?

न्यायालयको पहुँचमा भूमाफियाहरू तरिसके । तर, बुढा बाहरुले आफ्नै जमिन पाउन सकेको छैनन् । जल र जमिनमाथि हरेक नागरिकको आफ्नो अधिकार हुन्छ । न्यायालयमा विनाविभेद हरेक नागरिकको समान पहुँच र न्यायको प्रत्याभूति गराउने दायित्व सरकारको हुन्छ । त्यसैले राज्यले सर्वसाधारण नागरिकलाई अझैं पनि लोकतान्त्रिक व्यवस्थाको सहि कानुनी र न्यायिक प्रत्याभूति गराउन सकेन भन्ने लोकतान्त्रिक राज्यमाथि प्रश्न खडा भइरहन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob