scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

अब मजदुरहरुको न्यूनत्तम तलब कम्तिमा १५ हजार पुर्‍याउनैपर्छ : प्रमुख लम्साल

विष्णु लम्साल, प्रमुख, जिफन्ट अनुशासन/निरिक्षण आयोग

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का पूर्व महासचिव एवं जिफन्ट अनुशासन/निरिक्षण आयोगका प्रमुख विष्णु लम्साल यतिबेला संगठनका पदाधिकारीले आर्थिक हिनामिना वा संगठनको हित विपरित काम भएमा त्यस व्यक्तिलाई तत्काल निलम्बनमा पारी कारबाही गर्ने जिम्मेवारीमा छन् । कसैले अनुशासन उल्लघंन गरेमा छानबीनसँगै कारबाही गर्ने जिम्मेवारी उनलाई संगठनले प्रदान गरेको छ । उनको भनाईमा संगठनको मर्यादा विपरित काम गर्नेहरु कोहिपनि उम्कन सक्नेछैनन् ।

प्रस्तुत छ श्रमिक वा मजदुरले पनि अनुशासित ढंगले काम गर्नुपर्छ भन्ने मान्यता राख्ने जिफन्ट अनुशासन/निरिक्षण आयोगका प्रमुख लम्सालसँग साझापोष्टका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीको संपादीत अंश :

रोजगारदाताले श्रम कानूनको दुरुपयोग गर्नसक्ने सम्भावना छ

विधानले परिभाषित गरेअनुसार सर्वप्रथम त मैले संगठनको आनुशासनमा रहेर सबैलाई सोहिअनुरुप कार्यमा लागाउनेछु । यसका साथै लामो समयसम्म ट्रेड यूनियनमा लागेर काम गरेको नाताले मेरा अरुपनि जिम्मेवारी छन् । विशेषगरी श्रम बजार सुधारको प्रक्रियामा छ । श्रम बजार सुधारका लागि धेरै ठूलो मेहनत गर्न जरुरी छ । दुई ठूला कानून श्रम ऐन र सामाजिक सुरक्षा ऐन आएको छ । त्यसलाई ठिक ढंगले कार्यान्वययन गर्न सकिएन भने श्रम बजार अस्तव्यस्त हुने सम्भावना छ । अहिले आएको सामाजिक सुरक्षा ऐनलाई ठिक ढंगले कार्यान्वयन गर्न सक्दा र त्यसको स्किम बनाएर चलाउन सक्दा मजदुरहरुलाई धेरै लाभ दिन सक्छौं, अप्ठेरोमा संरक्षण गर्नसक्छौं । संगसंगै श्रम कानून पनि आएको छ । श्रम कानूनलाई पनि ठिक ढंगले परिचालन र ठिक ढंगले त्यसलाई व्यवस्थापन गरेनौं भने त्यसबाट रोजगारदाताहरुले बढी फाईदा लिने र यसको दुरुपयोगसमेत गर्नसक्ने सम्भावना छ ।

श्रम निरिक्षण प्रणालीको व्यवस्था गर्न सकिएन भने भोलि श्रमिक र रोजगारदाता दुवैले दुःख पाउँछन्

यसको दुरुपयोग रोक्न दुई/तीनवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा श्रम निरिक्षण प्रणालीको व्यवस्था गरिएको छ । श्रम निरिक्षण प्रणाली भनेर मात्रै भएन त्यसका लागि हामीले चाहिने आवश्यक संरचना बनाउनुपर्‍याे । आवश्यक जनशक्ति राख्नुपर्‍याे  । त्यसपछाडि त्यसलाई परिचालन गरियो भने त्यो श्रम निरिक्षणले काम गर्छ र ऐनको दफाहरु दुरुपयोग गरियो भने पनि नियन्त्रण गर्न सक्छ ।

यदी हामीले श्रम निरिक्षण प्रणालीलाई चाहिने आधारभुत संरचनाका कुरा व्यवस्थापन गर्न सकेनौं दक्ष जनशक्ति राख्न सकेनौं भने त्यो कागजमा मात्रै र ऐनमा मात्रै सिमित हुन्छ । त्यसबाट श्रमिकले पनि दुःख पाउँछन् भोलि रोजगारदाताले पनि दुःख पाउँछन् ।

छिटो छरितो न्यायका लागि अर्धन्यायिक श्रम आयोग गठन हुनैपर्छ

अर्काे श्रम संगठनले उठाएर पनि यो ऐनमा नआएको कुरो श्रम आयोगको गठन हो । छिटो छरितो न्यायका लागि अर्धन्यायिक श्रम आयोग गठन गर्नुपर्छ भन्ने हाम्रो माग थियो । मागलाई हामीले पुरा गर्न सकेनौं । हाम्रो २५/३० वर्षको अनुभव के छ भने श्रम क्षेत्रमा न्याय एकदमै ढिलो भयो । ढिलो न्याय पाउने कारणले धेरै श्रमिकहरु पीडित भए । छिटोछरितो न्यायका लागि राष्ट्रिय श्रम आयोगको गठन गरौं भनेर हामीले धेरै वर्षदेखि माग उठायौं । त्यो माग पुरा गराउन सकेनौं । यसको सुनुवाई भएन । यो माग पुरा नहुँदा अहिले पनि न्याय पाउनका लागि श्रमिकले आठ/दश वर्षसम्म कुर्नुपर्ने अवस्था छ । यस्तै अवस्था रहिरह्यो भने फेरीपनि श्रम बजार सुधार हुँदैन । मजदुरहरुले फेरी पनि दुःख पाईरहन्छन् । न्याय ढिलो पाउनु भनेको न्याए नपाउनु सरह हो भन्ने भनाई छ । यसलाई मलजल पुग्ने छ ।

अब श्रम कानून, सामाजिक सुरक्षा ऐन ठिक ढंगले कार्यान्वयनका लागि हामीले त्यसमा ध्यान दिनुपर्दछ । आगामि दिनमा त्यसमा बहस केन्द्रित गर्नुपर्नेछ । श्रम आयोगको गठनका लागि आगामि दिनमा आवाज बढाइरहनु जरुरी छ ।

अहिले ट्रेड यूनियनहरुलाई प्रतिबन्ध लगाउने कुरा आईरहेका छन नि भन्ने हाम्रो प्रश्नमा प्रमुख लम्साल भन्छन्

ट्रेड यूनियनलाई प्रतिबन्ध लगाउने कुरा त बेठिक कुरा हो । किनभन्दा दुनियाँमा कहिँपनि ट्रेड यूनियनलाई प्रतिबन्ध लगाईएको हुँदैन । हामी त आईएलओको एक सदस्य देश हौं । आइएलओको धेरै संगठन स्वतन्त्रताको महासन्धी पनि अनुमोदन गरेका छौं । त्यसकारण प्रतिबन्ध लगाउने भन्ने त प्रश्नै उठ्दैन । मैले सुनेको छु केहि केहि ठाउँमा विकृति भएका छन् । विशेषगरी निजामती सेवामा बढी विकृति भयो भन्ने छ । त्यसलाई प्रतिबन्ध भन्दापनि व्यवस्थापन गरेर जानुपर्छ । बहु ट्रेड यूनियनलाई नियन्त्रण गरेर एउटै आधिकारिक ट्रेड यूनियन निर्माण गर्ने कुरामा हामीले ध्यान दिनु जरुरी छ । बहु ट्रेड यूनियनहरुलाई नियन्त्रण गर्नु त जरुरी नै छ । तर त्यसको नाममा ट्रेड यूनियन अधिकारमाथि नै प्रतिबन्ध लगाउने, ट्रेड यूनियनहरुमाथि नै प्रतिबन्ध लगाउने कुरा त्यो असम्भव कुरो हो । त्यो गर्न हुँदैन र गर्न पनि दिंदैनौं ।

अबको मजदुर आन्दोलनले छरिएर रहेका ट्रेड यूनियनहरु एकताबद्ध गराउनुपर्छ

अबको मजदूर आन्दोलन विशेषगरी ट्रेड यूनियन आन्दोलनलाई एकताबद्ध गराउनेमा केन्द्रित बन्नुपर्छ । जतिपनि छरिएर रहेका ट्रेड यूनियनहरु छन्, तीनलाई एकै ठाउँमा ल्याउनुपर्छ । एकै ठाउँमा ल्याएपछि शक्ति सुदृद्धिकरण हुन्छ । शक्ति सुदृढ भइसकेपछि ट्रेड यूनियन आन्दोलन बलियो हुन्छ र उनीहरुले आफ्नो इस्युहरुलाई सम्बोधन गराउन सक्छन् । पहिलो एकतालाई सुदृढ बनाउने कुरामा ध्यान दिनुपर्छ । आएका ऐन कानूनलाई सुदृद्ध ढंगले कार्यान्वयनमा लैजान पूर्वाधार तयारमा ध्यान दिनुपर्छ र तेस्रो ऐन कानूनमा भएका कुरा कार्यान्वयनमा गएको/नगएको हेर्नका लागि श्रम ऐनले तोकेका संरचनालाई प्रभावकारी परिचालनमा लागि ध्यान दिनुपर्छ ।

मजदुरको न्यूनत्तम तलब कम्तिमा १५ हजार पुर्‍याउनैपर्छ

यो वर्ष न्यूनत्तम वेतन निर्धारणको वर्ष भएको हुँदा यो वर्ष हामीले न्यूनत्तम वेतन निर्धारणमा अलि बढी तदारुकता देखाउन जरुरी छ । त्यसमा पनि अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटियुसी) को क्याम्पेन छ । त्यो क्याम्पेनमा विश्वभरीका मजदुरको तलब बढी नै वृद्धि हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय जगतमा पनि त्यो देखिन्छ ।

हामीले हाम्रा श्रमशक्ति बाहिरिए हाम्रो देशमा युवाशक्ति रहेनन् भनेर भन्ने गर्छौं । ती युवाशक्ति हाम्रो देशभित्रै आकर्षित गर्ने हो भने हामीले तोक्ने न्यूनत्तम तलब पनि आकर्षित गर्ने खालको हुन जरुरी छ । अरबमा गएर यहिँका श्रमिकले ३०/४० हजार कमाउँछन् भने हाम्रोमा सरकारी पियनको भन्दा पनि कम आठ/नौ हजार तलबले खान लाउन पनि पुग्दैन । सामान्य खर्च चलाउन पनि पुग्दैन । त्यसले गर्दा अहिले श्रमिकको न्यूनत्तम वेतन/पारिश्रमिक/तलबलाई कम्तिमा १५ हजार पुर्‍याउन सकियो भने यसबाट यहि भएका श्रमिकलाई पनि न्याय गर्न सक्छौं । बाहिरिएका श्रमिकलाई पनि यद्यपी बाहिरको भन्दा थोरै नै भएपनि यहि नै आकर्षित गर्नसक्छौं । हामीले देश निर्माणको अभियानलाई अगाडि बढाउन सक्छौं । यहि अभियान अगाडि बढाएका छौं । त्यसकारण म फेरीपनि भन्छु अब श्रमिक/मजदुरको न्यूनत्तम तलबलाई कम्तिमा १५ हजार पुर्‍याउनैपर्छ र यसलाई सोचेअनुसार निष्कर्षमा पुर्‍याउन सकियो भने यसबाट हामीले श्रम बजार र व्यवसायीक क्षेत्रलाई पनि सुधार्न सक्छौं । त्यसोहुँदा श्रमिकहरुको मर्यादीत कामको ग्यारेन्टी गर्नेतर्फ एउटा पाईला अगाडि बढाउन सक्थ्यौं भन्ने लाग्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob