scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

‘राजनीतिक परिवर्तनमा संख्याले मात्रै निर्णायक भूमिका खेल्न सक्दैन’

तेजेन्द्र थापा, संयोजक- नयाँ शक्ति पार्टी, गुल्मी

केमा व्यस्त हुनुहुन्छ ? राजनीतिमा किन लाग्नुभयो ?
म झण्डै २८ वर्ष पहिला चन्द्रकोट नपा-३ मा एक मध्यम वर्गीय परिवारमा जन्मिएँ । विभिन्न कठिनाईले प्रवेशिका परीक्षापछि मेरो अध्ययन रोकियो । स्कूले जीवनदेखि नै वामपन्थी राजनीतिमा झुकाव थियो । तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको प्रभाव गुल्मीमा ०५४ तिरैबाट देखिन थाल्यो । केही समय सोही पार्टीमा आवद्ध भएर काम गरेँ । त्यहाँ काम गर्दा मैले माओवादीका पनि कमजोरी देखेँ । त्यसको विरोध गर्दा म माओवादीकै एक वर्षे नजरबन्दमा परेँ । ०५५ देखि दोस्रो संविधानसभा निर्वाचनसम्म माओवादीकै आलोचनात्मक समर्थन गरेँ । त्यसपछि स्वतन्त्र हिसाबले राजनीतिक विकल्पको खोजी गर्न थालेँ । नयाँ शक्ति निर्माण अभियान सुरु भएसँगै सोही पार्टी र अभियानमा आवद्ध भएको छु । पेशा व्यावसायको रुपमा सानो पसल र एउटा कृषि फर्म सञ्चालन गरेको छु । त्यहीँ बाख्रापालन र कागती खेती सुरु गरेको छु ।

सत्तासिन दलहरु छन् । ठूला पार्टीहरु छन् । वैकल्पिक राजनीतिक बाटो रोज्ने जाँगर कसरी चल्यो ?
मैले माओवादी आन्दोलनलाई समर्थन गरिरहँदा त्यतिबेला अरु नै सत्तामा थिए, शक्तिमा थिए । अहिले हामीले नयाँ शक्ति भनेर वैकल्पिक राजनीतिको कुरा गर्दा पहिले कमजोर रहेको माओवादी लगायतका शक्तिहरु सत्ता र शक्तिमा छन् । राजनीतिक अभियन्ताले आज हेरेर भन्दा भोलि हेरेर निर्णय लिनुपर्छ । यसै पनि नेता भनेको अग्रचेतना पनि हो । हामीले नेपाली समाजको बदलिँदो पदचापलाई सही ढंगले ठम्याएका छौं । राजमार्ग खन्ने बाटोको सुरुवात गोरेटोबाटै हुन्छ । २१औं शताब्दीमा मानव जातिलाई आवश्यक पर्ने विचार प्रतिपादन गर्ने अभियानमा नयाँ शक्ति छ । यसर्थ, म यो अभियानमा जोडिएको हुँ ।

नयाँ शक्ति आफैं पनि उतारचढावबाट ग्रुज्रिरहेको छ । दुई वर्षको राजनीतिक यात्राको कसरी समीक्षा गर्नुभएको छ ?
नयाँ पार्टी गठन र यसको विकास उतारचढावमै हुन्छ । राजनीति र सामाजिक रुपान्तरणको अभियान कुनै गणितिय सुत्रमा सपाट ढंगले अगाडी बढ्दैन । उतारचढावबाट सिकिने सिकाई अर्थपूर्ण हुन्छन् । स्थापनाकालमा एउटा लहर थियो । त्यो लहर ठूलो महत्वाकांक्षा बोकेका तर रुपान्तरणप्रति कति पनि इच्छाशक्ति नभएकाहरुको भिड थियो । बाबुरामको पछाडि लाग्दा छिट्टै माथि पुगिन्छ भन्नेहरुले नयाँ शक्तिलाई पद र प्रतिष्ठामा पुग्ने छोटो बाटोको रुपमा प्रयोग गर्न खोजे । हामी अहिले मात्रात्मक विकासबाट गुणात्मक विकासको मोडमा छौं । बिस्तारै नयाँ स्तरको मात्रात्मक विकासमा पनि फड्को मार्छौं ।

आफ्नो पार्टीको राम्रै कुरा गर्नुहुन्छ । केही कमजोरीहरु होलान् जसले गर्दा धेरै नेता कार्यकर्ताले छाडेर गए ?
अवश्य पनि नीति र कार्यदिशा सही भए पनि कार्यक्रमिक अस्पष्टताहरु रहे । राजनीतिकमा कदम मिलाउने कुराको अत्यधिक महत्व हुन्छ । हामी यहाँ चुकेकै हौं । असल नियतले मात्रै नेपालजस्तो सामाजिक चेतनास्तर बोकेको समाजमा राजनीतिक नेतृत्व गर्न सकिन्न । स्थापना हुनासाथ तीनवटा चुनावहरुको लगातार सामना गर्नुपर्‍यो । पुराना पार्टीहरुले अस्तित्व रक्षाको लागि एकताको अस्त्र प्रयोग गरे र केही समयकोलागि जनतालाई भ्रमित बनाइरहेका छन् । लुम्बिनी बैठकपछि नीति र कार्यदिशामा थप प्रष्टतासँगै कार्यनीतिक श्रृंखलाहरु पनि सही ढंगले मिलाउँदै अगाडि बढ्दैछौं ।

कम्युनिष्ट ब्रान्डका दुई पार्टीहरु मिलेर ठूलो पार्टी बनेको छ । अब साना दलहरुको भविष्य संकटमा परेको हो ?
नेपालमा कम्युनिष्ट नामधारी दुई पार्टीहरु मिलेर नयाँ पार्टी बनाएको भनेका छन् । वस्तुतः यो सुधारिएको पञ्चायत भनेजस्तै सुधारिएको नयाँ एमाले बनेको हो । यो अभियानमा आमूल परिवर्तनको लेगेसी बोकेका प्रचण्डले अनिश्चित भविष्यको जुवामा इतिहास सबै दाउमा लगाइदिएका छन् । रुप पक्षबाट हेर्दा उस्तै उस्तै पार्टीहरु मिल्नुलाई सकरात्मक नै लिन सकिन्छ । तर, यो एकतामा रुपान्तरणको पक्ष असाध्यै छायाँमा परेको त्यही पार्टीका नेताहरुले पनि स्वीकारिरहेका छन् । रुपान्तरणबिनाका नकरात्मक पक्षहरुको गठजोड अथवा एकताले समाजलाई अगाडि लैजान सक्दैन । सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनमा संख्याले मात्रै निर्णायक भूमिका खेल्दैन । नाम कम्युनिस्ट भए पनि काम भने आसेपासे पुँजीवादीमा आधारित यो पार्टीमा क्रोनी क्याडर, एनजिओकर्मी, ठेकेदार, शिक्षा र स्वास्थका व्यापारी, भूमाफिया, तस्कर, सिन्डिकेटका पक्षपातीहरु र डनतन्त्रको गहिरो साँठगाँठ छ । नीति, विचार, आचरण, कार्यशैली उही पुरानै भयो भने नेपाल र नेपाली जनताको जीवनमा यो एकताले खासै अर्थ राख्दैन । अहिले स्पष्ट बहुमतका साथ कम्युनिस्ट सरकार बनेको छ । यसका सामु हजारौं काम गर्ने अवसरहरु छन् । काम कसरी गर्छ हेर्न बाँकी छ । काम गर्ने सोच राम्रो भएता पनि काममा आई पर्ने अबरोधहरुलाई कसरी हटाउँछ हेर्न बाँकी छ । दिउँसोको संकेत बिहानीले गर्छ भने जस्तो गृहमन्त्री रामबहादुर थापा र यातायात ब्यबस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको सक्रियतामा यातायात क्षेत्र सुधार तथा सिन्डिकेट र कार्टेलिङ अन्त्यका लागि जुन काम हुँदै थियो तिनै महानिर्देशक भट्टराईलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सरुवा गरी दिए । यसरी इमान्दारीपूर्वक काम गरी रहेका कर्मचारीलाई हतोत्साहित बनाएका छन् । त्यो बिषयलाई प्रधानमन्त्री ओलीले कसरी लिएका छन् र के गर्छन् त्यो हेर्न बाँकी छ । २०६८ सालमा तत्कालीन वैदेशिक रोजगार सुधारमा उल्लेखनीय काम गरेका महानिर्देशक पुर्णचन्द्र भट्टराईलाई तत्कालीन श्रममन्त्री सरिता गिरीले सरुवा गर्दा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्री गिरीलाई बर्खास्त गरेका थिए । इतिहासकै शक्तिशाली ओली सरकारले त्यति हिम्मत गर्न सक्छ कि सक्दैन त्यो समय क्रमले देखिने छ ।
अब रह्यो कुरा यो एकताले साना दलहरु संकटमा पर्ने वा मजबुत हुने भन्ने कुरा, परम्परागत विचारमा अडेका साना दलहरु संकटमा पर्न सक्छन् । यो स्वभाविक पनि छ । तर, विकल्पको खोजी गरिरहेका लाखौं जनताको भावनाको नेतृत्व गर्न सके नयाँ शक्तिको लागि झन् मैदान खाली भएको छ । बाटो खुलेको छ ।

ठूला-ठूला पार्टीहरु मिले । विचार र कार्यक्रम मिल्ने साना पार्टीहरु मिल्नुपर्दैन ?
नयाँ शक्तिले हिजोदेखि नै उठाउँदै आएका मुद्दाहरू आज सबै पार्टीले उठाउन थालेका छन । सबै पार्टीहरुले नयाँ शक्तिले उठाएका मुद्दाका शब्द त चोरेका छन् तर ती मुद्दाको हल कसरी गर्न सकिन्छ भन्ने स्पष्ट खाका कुनै दलसँग पनि छैन । नेपाली समाजको प्रमुख अन्तरविरोध के हो ? त्यसको पहिचान र त्यसको समाधान नगरी समृद्ध नेपाल निर्माण हुन सक्दैन ।
यही वैचारिक र युगीन आवश्यकताको आधारमा जन्मिएका पार्टीहरुले फरक फरक पसल खोलेर बस्न आवश्यक छैन । विचार र उद्देश्य मिल्ने पार्टीहरु मिलेर तेस्रो र सशक्त समाजवादी धारको नेतृत्व गर्नुपर्छ भन्ने मेरो बुझाई हो ।

स्थानीय स्तरबाट राजनीति गर्दा केन्द्रमा बस्ने नेतृत्वको गल्ती देखिन्छन् होला । केही सुझाव छन् ?
नयाँ शक्ति पार्टी आम जनताले अपेक्षा गरेअनुरुप अघि नबढ्नुमा नेतृत्वको पनि केही कमि कमजोरी भएको मैले ठानेको छु । सहि मान्छेको पहिचान गर्न नसक्नु र सहि मान्छेलाई सहि जिम्मेवारी दिन नसक्नु, गलत मान्छेलाई आवश्यकता भन्दा बढी विश्वास गरी महत्त्वपूर्ण जिम्मेवारी दिनु । साथै बिरोधीहरुका कुरामा पनि तुरुन्त विश्वास गरिहाल्नु । प्रतिनिधि सभा र प्रदेशसभा चुनाबको समयमा धेरै कुरा नबुझी हतारमा बाम गठबन्धनमा सामेल हुनु र तुरुन्तै बाहिरिनु यी नेतृत्वका कमजोरीहरु हुन भन्ने लाग्छ । अब नेतृत्वले यस्ता कमजोरीबाट पाठ सिकेर अरु गल्ती नदोहोर्‍याउन नेतृत्वलाई अनुरोध गर्दछु ।

अन्तिममा ?
तत्कालीन विश्वमा विद्यमान दुई वैचारिक धारहरु उदारवादी पुँजीवादी धार र राज्य नियन्त्रित कम्युनिष्ट धार (साम्यवाद) यी दुबै धार असफल भैरहेको वर्तमान अबस्थामा तेस्रो धार लोकतन्त्रमा आधारित समाजवादी धार नै अबको आवश्यकता हो । हाल विश्वमा देखिएका यावत समस्याहरुको समाधान गर्न यो धार आवश्यक छ । नेपाल र नेपाली समाजमा रहेका यावत समस्याहरु र अन्तरविरोधहरुलाई हल गर्न लोकतन्त्रमा आधारित समाजवादी धार नै चाहिन्छ । त्यो धारको नेतृत्व नयाँ शक्ति पार्टीले गरेको हुनाले लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने राजनीतिक दल, अभियान र व्यक्तिहरुलाई व्यापक ध्रुवीकरणमार्फत् विशाल लोकतान्त्रिक समाजवादी पार्टी निर्माण गरी सहभागितामुलक लोकतन्त्र हुँदै समुन्नत समाजवादमा जाने अभियानमा सहभागी हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob